बुसोकुसेकिका कविता
श्रीराम श्रेष्ठ
१.
बसिबियालो
खुम्चेको सानो मन
उजाड आँखा
दुबो टेक्ने वसन्त
शीतल चिसो हावा
फिजेपछि मात्तेको ।
२.
बिरामी हुँदा
ओछ्यानमा पल्टेको
आँखामा आँसु
मरितुल्य जीवन
मृत्युले जिस्काउँदा
विगत सम्झि रोएँ ।
३.
त्रिशूली नदी
निलो जलप्रवाह
खिचेको मन
पानीले भिजाउँदा
डुबुल्कि मार्ने इच्छा
पानीको वेग कुरे ।
४.
गन्तव्य पथ
जीवन तन्काउँदै
मिलेको हासो
बुझ्नुपर्छ आफैंले
अँगालोको बेलामा
चुचुरो हसाइ ।
५.
वर्षाको खोला
हुत्तिदै अधि बढ्दा
आवजै ठूलो
लेदोपन मिस्सिदै
धमिलिदै बगेको
आत्तिदै माछा लुक्यो ।
६.
भेटेको बेला
नाता जोड्न खोजेको
लठ्ठै परेको
आँट गर्न सकिन
माया गुम्सिन थाल्दा
बतास्सिएको मन ।
७.
बन्द कोठामा
कोचिएर राखेको
मनमा डर
आँखा चिम्म गरेको
अँध्यारो निसास्सिंदा
गन्धको उवार नै ।
८.
दुखेको मन
कति सहने कुन्नी
कर्मको फल
जिउने बाटो सिक्दा
खुल्ला ढोका मन्दिरको
उज्यालो छिरिदिंदा ।
९.
बुझ्न सकिन
अनौठो दृश्य देख्दा
रमेको मन
आखा नै झलमल
बिहानि छाना हेर्दा
प्रकृति रमाइलो ।
१०.
जाडो महिना
निस्किनै नसकिने
कामेको मुटु
चिसोले सताउँदा
तातो नै खोज्नुपर्ने
घाम बन्यो औषधी ।
Comments