काठमाडौ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) परीक्षणमा मात्रै भर पर्न नसकिने भन्दै पिसिआर परीक्षणको दायरा बढाउन माग गरेको छ ।
आरडिटी परीक्षणमाथि विश्वव्यापी प्रश्न उठिरहेका वेला यसको भर पर्न नसकिने भएकाले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने माग गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । आइतबार पार्टी कार्यालय सानेपामा पार्टीका पूर्वस्वास्थ्यमन्त्री र चिकित्सकहरूसँगको छलफलपछि कांग्रेसले समुदायस्तरसम्म परीक्षणको दायरा बढाउनुपर्ने निष्कर्ष निकालेको हो ।
छलफलपछि पार्टी प्रवक्ता शर्माले लकडाउनको समुचित उपयोग गर्न सरकार चुकेको पनि बैठकको निष्कर्ष रहेको बताए । चिकित्सकहरूलाई अति आवश्यक स्वास्थ्य सामग्री पर्याप्त उपलब्ध गराउनुपर्ने, प्रोत्साहित गर्नुपर्ने भन्दै प्रवक्ता शर्माले सरकारले यसको ठीक उल्टो काम गरिरहेको बताए ।
कांग्रेसले अस्पतालको क्षमता बढाउनुपर्ने, उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्ने तथा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने सुझाब पनि सरकारलाई दिने निर्णय गरेको छ । कोरोनाले मात्रै बिरामीको मृत्यु नहुने भन्दै कांग्रेसले अन्य रोगका बिरामीको स्वास्थ्य उपचारतर्फ पनि ध्यान दिनुपर्ने जनाएको छ ।
छलफलमा सहभागी चिकित्सक डा. केदारनरसिंह केसीले कोरोना नियन्त्रणमा सरकार पूर्ण रूपमा असफल भएको बताए । कोरोना रोकथामका लागि सरकारले गरेका प्रयास पर्याप्त नभएको, घोषणा गरेअनुसार जनताले राहत पाउन नसकेकाले पनि सरकार पूर्ण रूपमा असफल भएको निष्कर्ष छलफलले निकालेको उनले बताए ।
Comments