बेलकोटगढी।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ५ केउरेनीको त्रिशुली खोला किनारमा निर्माण गर्न लागिएको खेल मैदान सबै खेलप्रेमीहरुका लागि पाएक नभएको भन्दै सम्झौता रोक्न माग गरिएको छ । नगरपालिकाका स्थानीय, राजनीतिक नेतृत्व, समाजसेवी, खेलाडी लगायतले
निर्णय तत्काल रोक्का नगरे सशक्त विरोधको चेतावनी दिएका छन् ।
शुक्रबार ४२ जनाको हस्ताक्षर सहित तत्काल निर्माण कार्य अघि नबढाउन नगर प्रमुखसँग माग गरेका छन् । नगरपालिकाकै लागि निकै महत्वपूर्ण उक्त परियोजना खोला किनारमा नभई सबैलाई पायक पर्ने व्यवस्थित स्थानमा निर्माण गर्न आवश्यक रहेको बताइएको छ। खोला किनारमा मैदान निर्माण गर्दा वर्खामा बगाउने सम्भावना निकै रहेको र सो स्थानमा मैदान निर्माण गर्दा हिन्दुहरुको आस्थाको पन्चेश्वर महादेब ,सुन्दरा देबिमाइ मन्दिर र मरणपाटी समेत भत्काउनुपर्ने भएकाले त्यसलाई अन्यत्र सार्नुपर्ने माग छ।
त्यस्तै खेल मैदान निर्माण गर्न एकलौटी समिति गठन गरिएकाले पुनः नगरबासीहरुको भेला गरी सर्वसम्मतबाट प्रस्ताव आएको स्थानमा उक्त खेलमैदान निर्माण गर्न उनीहरुको माग छ । सरकारको ‘एक नगरपालिका, एक एक खेल मैदान’ निर्माण अभियान अन्तर्गत यो मैदान निर्माण गर्न लागिएको हो ।त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ भने नगरपालिकाले २१ लाख थप गर्ने छ ।उक्त रकमको सहि सदुपयोग गरि नुमना मैदान बनाउनुपर्ने उनीहरुको माग छ।
Comments