सिजो
- श्रीराम श्रेष्ठ
१,
रातमा निद्रा लाग्दा घुमाएछ सपनाले
मनमा तर्कनाले निउ खोज्दा पच्नै गाह्रो
औकात बिर्सने बानी आफैदेखि लजाएँ ।
२,
रातमा सुनसान सन्नाटा छ परिवेश
चिम्लँदै निदाउन खोज्दा खोज्दै डर पस्यो
हल्लिँदा चिरा परेछ भोग्नुपर्ने जीवन ।
३,
रातमा दाउ छोपी झम्टिहाल्छ लामखुट्टे
भोकले उक्साउँदा आहारामा फसिहाल्ने
रगत चुसेर भाग्दा अकालमा मारियो ।
४,
रातमा पढ्दा पढ्दै कति खेर निदाउँछु
यसरी दिनचर्या बित्ने भयो सधैँजसो
सोच्दछु कहिलेकाहीँ भाग्य पनि अचम्मै ।
५,
रातको घेराभित्र मस्तसँग बाँधिएको
सपना हल्लाउँदै आत्तिएको सानो मुटु
पसिना शरीरभरि थुपारेर हाँसेको ।
६,
रातमा निद्रा लाग्दा रित्तो कोठा चिसो अति
सकिन तताउन एक्लै एक्लै भएपछि
मरेर बाँच्नुको अर्थ अर्थ्याउने कसरी ?
७,
रातको सपनामा देखेको`थे तिमीलाई
मिलन बिछोडको सम्झनाले तर्साएको
भावुक भएर सम्झे व्यर्थ देखे सपना ।
Comments