१.
मनको वह
भएन पोख्ने ठाउँ
राखेँ गुम्साई !
२.
पानीको थोपा
तपतपी चुहेर
बन्यो पोखरी !
३.
उकालो बाटो
थाकेछ हिँड्दा हिँड्दै
सहारा लठ्ठी !
४.
अल्लारे बेला
विचार नपुग्दामा
टोकिन्छ जिब्रो !
५.
मध्यरातमा
चिसोले कठ्याङ्ग्रिँदा
गुहार्दै न्यानो !
६.
पोखरी छेउ
ध्यान गर्दै बकुल्लो
बन्दै चलाख !
७,
आँखामा टाँस्यो
हरियाली मौसम
खुसी नै प्रिय !
८,
रापले पोल्दा
सर्पको दौडादौड
लुक्यो दुलोमा !
९,
पढेर हेर
देशभक्ति कथा
त्यागेर स्वार्थ !
१०.
प्रेयसी याद
अधरमा गुलाफ
जोड्दै भावना !
११.
मीठो अतीत
बिर्सन नसकिने
सम्झेर आफ्नै !
१२.
साँध सिमाना
अरुलाई उज्यालो
संस्कार कस्तो !
Comments