बुसोकुसेकिका कविता
- श्रीराम श्रेष्ठ
१.
ठाडो झरना
वेगले झर्न खोज्दा
भुइँमा चिप्ल्यो
घमण्ड गर्दै गर्दा
उम्लेको पानीजस्तै
बाफिएर उडेको ।
२.
धान झुलेको
पहेलाम्य बनेर
मोतीको दाना
मेहनतको फल
किसानको मुहार
खुसीले चम्किएको ।
३.
साँचे जिन्दगी
समयसँग हाँस्दा
बग्यो पसिना
ठाडो शिर पारेर
संसार चिहाउँदा
दु:खलाई पछारेँ ।
४.
चुलिदै गयो
सपनाको महल
रहर बुच्चै
समस्यामा पाडिँदै
दु:ख छाड्न खोजेको
सुख बन्यो छायामा ।
५.
हिरा र मोती
बहुमूल्य ठानिने
लोभ टाँसिने
स्वार्थले गाँजेपछि
आँखा छली दौडेको
भाग्य खोटो रहेछ ।
६.
पसिना छुट्दा
दु:खभित्र घुसेछ
सुख खोजेको
मेहनतको फल
काखी च्याप्न थाल्दा
स्वर्ग बन्यो जीवन ।
७.
पूर्वको घाम
सबेरै झुल्किएछ
हिमाली दृश्य
फेवातालमा देख्दा
एेना बन्दै टल्केको
आँखा बन्यो तेजिलो ।
८.
माटोको माया
बेलिबिस्तार गर्दा
रसायो आँखा
युद्धभूमिको मोर्चा
तातो आलो रगत
वीरताले सिन्चित ।
- बट्टार,नुवाकोट
Comments