बुसोकुसेकिका कविता
- श्रीराम श्रेष्ठ
१.
दियो बालेर
जीवन डोर्याउँदा
दु:खित मन
ज्वारभाटा उम्लेर
सपना देख्न खोज्दा
थुप्रिएको खरानी ।
२.
अघाएँ टन्न
वचनको वाणले
निरीह बनी
खुकुलो मन बोक्दा
फुस्किएको सपना
तर्सेर कुना पस्यो ।
३.
बीच बाटोमा
अँगालोमा बोकेको
लाज च्यात्तिँदा
अल्लारे बैँस छोप्दै
जाल हान्दा चुडेको
माया बन्यो बैगुनी ।
४.
सधैँ जसो नै
सम्झिने धरातल
आफ्नै अडान
एकोहोरो मिजास
एकलकाँटे हुँदा
भोग्दै बन्दी बनेर ।
५.
मनको पीर
भित्रभित्रै दबिदा
च्याप्यो रोगले
सपना बिथोंलियो
खुम्चेर साँघुरिँदा
जलिरहेको मन ।
६.
जोडी ढुकुर
हतारमा साटिदा
माया सहज
बुझेर रन्थनिंदा
सोचमग्न भएको
बैंसको मीठो गन्ध ।
७.
मनको आँखा
सबैतिर नियाल्दा
चलाख बन्दै
दिमाग दगुरेको
बाठो बन्न खोजेको
छाया बदलिएछ ।
८.
निर्दोष बनी
पाखा लाग्दै बसेको
दुखेको मन
आँखा चिम्ली बसेको
बाध्यतामा फसिदा
बातको थुप्रो हेर्दै ।
Comments