बुसोकुसेकिका कविता
- श्रीराम श्रेष्ठ
१.
निथ्रुक्क भिजेँ
मायाको डुबुल्कीमा
रमायो मन
आफैलाई साटेर
जीवन तन्काउँदै
झस्केको खल्लो मन ।
२.
दुखी मनमा
सुखी बन्ने प्रयास
देख्दै सपना
मतलबि दुनियाँ
घेरैमा रमाउछ
दयाभाव मरेको ।
३.
उकालो बाटो
हुत्तिँदै अघि बढ्दा
बाटो छोट्टेको
बुझ्न खोज्दा सकिनँ
जिन्दगी डरलाग्दो
समयले धकेल्दा ।
४.
धान्दै इज्जत
समाजमा ठडिएँ
नाङ्गो सपना
आँखाभरि उज्यालो
कम्मर कसेरे नै
पीडा बोक्दै बाँचेको ।
५.
पातको शीत
घामको चुम्बनमा
बाफिलो मन
आफैभित्रको रिस
भौँतारिँदा सन्केको
ओइलिएको रुप ।
६.
लोकतन्त्रमा
निरङ्कुस लादेको
लाग्यो सपना
आन्दोलन मच्चिँदा
अघिअघि बढेको
सम्झे गोलाबारुद ।
Comments