बुसोकुसेकिका कविता
- श्रीराम श्रेष्ठ
१.
एकअर्कामा
विश्वास पस्दै गर्दा
बन्दै आफन्त
नछुटिने विश्वास
समय बित्दै जाँदा
कुडियो आफ्नै मन ।
२.
अल्पिँदै बस्दा
मनोभाव लुकेछ
जाग्यो वितृष्णा
वैरागीले घेरेको
टोलाइ बस्दा एक्लै
सम्झे भिखारी माया ।
३.
कालो समय
अन्धकार छिचोल्दै
कठोर बनेँ
विद्रोहको मसाल
घिस्रिँदै अघि बढ्दै
सुख बटुल्ने धोको ।
४.
स्वर्गीय स्वप्न
आँखामा टिलपिल
बिर्सेको सम्झे
जोडिएको विश्वास
भताभुङ्ग सपना
वेदनाले झस्कायो ।
५.
जोडेको मन
विश्वास गुमेपछि
टाढियो माया
सम्झनाले तर्सेको
भूत बनी आँखैमा
सम्झेको आफ्नोलाई ।
६.
प्रतिस्पर्धामा
कमजोर ठानेर
कामेको मुटु
डरले सातो लिँदा
तेर्सिएर गुमेको
समालिने कसरी ।
Comments