बुसोकुसेकिका कविता
- श्रीराम श्रेष्ठ
१.
बगैंचाभित्र
रङ्गीचङ्गी दृश्यले
खिचेको मन
आँखामै टाँसिएछ
सफा वातावरण
सुन्दरता हाँसेको ।
२.
गहिरो प्रेम
मुटुको धड्कनमा
राख्न खोजेको
एकोहोरो सोचाई
चिप्लेको हिले माछा
माया अन्धो भएछ ।
३.
आँखा उघार्दा
सम्झेको उनीलाई
रित्तो पलङ
मुटुभित्र साँचेको
धोका पाउँदा पनि
भुल्न नसक्ने माया ।
४.
मान्छेको भाग्य
समयचक्र भित्र
ऐना बनेर
आँखा एक्लै तेर्सिदा
तर्सिएको समय
धकेलिन पुगेछ ।
५.
आफु जलेर
उज्यालो छर्न खोज्दा
पीडा दबेको
सुख ओकल्न खोज्दा
अँगालेको दु:खले
दबाउँछ प्रशंसा ।
६.
रमेको मन
खुसीले उफ्रिएको
उडेको चरा
कावा खाँदै उडेको
मीठो ध्वनि गुन्जिँदा
सौन्दर्य पोखिएको ।
Comments