बुसोकुसेकिका कविता
- श्रीराम श्रेष्ठ
१.
झरि परेछ
चिस्सिएको समय
रुन्चे मौसम
चारैतिर चिहाएँ
उज्यालो धमिलियो
मन बन्यो अमिलो ।
२.
अँध्यारो पन्छ्यो
कुखुरा बासेपछि
फाट्यो अँध्यारो
उज्यालो छर्दै गर्दा
दृश्य बन्यो मोहक
खुसी नै उपहार ।
३.
मद्दत मागेँ
आपतमा आफैले
बनेछु एक्लै
समयले हुत्यायो
आफन्त नै टाढिएँ
खुसी बन्यो लिलामी ।
४.
जाडो महिना
निस्किनै नसकिने
कामेको मुटु
चिसोले सताउँदा
तातो नै खोज्नुपर्ने
घाम बन्यो औषधी ।
५.
बाटो छोटिँदा
थकाइ मार्न बसेँ
मिठो बसाइँ
शीतल चुम्दै बस्दा
खेल्यो मनमा कुरा
आशङ्काले घेरियो ।
६.
शीतल हावा
जीवन खुसीमय
प्रकृति देन
क्षणिक भए पनि
चङ्गा भएको मन
आकासिँदा आत्तिएँ ।
Comments