सिजो कविता
- श्रीराम श्रेष्ठ
१,
राखेर तिमीलाई मुटुभरि सजायथेँ
सम्झेथेँ विश्वासले आस्था निभ्न कहाँ देला
आखिर लत्याइहाल्यौ दोबाटोमा एक्ल्याई ।
२,
लेखेर चिठ्ठीपत्र उनीलाई पठाइयो
बौलाह जस्तै भएँ तिनलाई सम्झिएर
ब्यर्थको मुडे अडान देख्दादेख्दै जाकियो ।
३,
मायालु तिम्रो रुप हेर्दाहेर्दै लोभिएछु
प्रस्ताव राख्नलाई आँट गर्दै लम्किएको
मनको चाहनालाई बुझिदिँदा अनौठो ।
४,
तस्विर पल्टाउँदा झलझली आँखाभरि
सकिनँ पन्छाउन गरेकी थ्यौ रुवाबास
बाध्यता आफैं बोकेर टाढासम्म पुगेथें ।
५,
सोचेको माया जति घोप्टाउन सकिएन
नजिक हुँदाखेरि आँखा पनि टाढा भयो
मनको पोको फुकाउँ भन्दा आफै चुँडितो ।
६,
इसारा बाटो बन्यो तिमीसँग भेट गर्न
मनको सपनाले डोर्याउला तिमीलाई
तिमीले बिँउझाउँदा न्यानो घाम भागेछ ।
Comments