अञ्जु अनुको कविता भोका पेटहरु- तिथि र मिति जुराएर नीति मिलाउदै खोक्रो राजनिती गर्दै हिँडेका भरौटे लाज पचाउँदै
कविता
भोका पेटहरु
- अञ्जु अनु
तिथि र मिति जुराएर
नीति मिलाउदै खोक्रो राजनिती गर्दै
हिँडेका भरौटे लाज पचाउँदै
त्यही बस्तिमा गएर हिजो मन्चमा गएर
भाषण ठोकेर जनाएका
प्रतिबद्धतालाई लत्याएर
आज गरिबिको छातीलाइ मैदान
गराएर लडिबुडी खेल्दै चाहारेका ती अनुहारहरु
पार्टी र संघठनलाई आफ्नो बाउको बिर्ता
सम्झने ती अनुहारहरु लाज
पचाएरै भए पनि
पाइला चाल्दै छन् त्यही बस्तिमा
फेरि खोक्रो आश्वासन दिन
सदियौँ देखि अचानो बनेर
पिल्सिएका ती मन
भविष्यको पर्खालमा काँडेतार
बनेको गरीबीमा केही पाउने आशामा
प्रफुल्ल बनेका अनुहारको अगाडी
क्षितिजपारीबाट झुल्के
घामसँङै नजिकिँदै गरेको
चुनावको माहोलमा
टाइ सुट बुट र फुलमालामा
सजिएर भोकोपेटमा चारो
हालिदिने वाचामा बिस्वास
दिलाउने सम्झौता पत्र सँङै
भोको पेटको
वस्तीमा पुगेर सिद्धान्त र राजनितिको
बहस गर्दै गर्दा ती भोका र नाङ्गा
अनुहारले भन्दै थिए
खान पाएका छैनौ भने आउ
दिनभरी मजदुरी गरेर भएपनी
एक छाक भात खुवाँउछौ ।
Comments