सेडोका कविता
- श्रीराम श्रेष्ठ
१,
दु:खेको बेला
आफन्त नै पराइ
बाँधेर मन कस्दै ।
हाँसेको रुप
सबैसँग जोडिन्छ
कसिएको मित्रता ।
२,
लुट्नु लुटेको
लाज पोको पारेर
भागेछ मुख छोप्दै ।
वैँशको बेला
गति छाडा बनेर
मौका छोप्ने दाउमा ।
३,
वैशको गन्ध
मात्तिएको मनले
थामिएन हिर्काइ ।
चढ्दो उमेर
उत्ताउलो बनेर
खेलेको नाङ्गो नाँच ।
४,
पानीको वर्षा
बिनाछाता दौडँदा
भिजेर लत्रिएको ।
थामिन गाह्रो
दगुर्दै अडिँदामा
पाइनाले भिजेको ।
५,
दिलको कुरा
बुझ्ने कोही भएन
दोबाटोमा अल्पिएँ ।
जोडेको प्रेम
मन खोल्दै गफिँदा
टाँसिएको चुम्बक ।
६,
निद्राले लठ्ठ
बिछ्यानमा पल्टिँदा
सपना बन्यो जोडी ।
चिम्लेको आँखा
कुरा खेल्दा मनमा
छट्पटियो निद्रा ।
Comments