Skip to main content

सेडोका कविता - श्रीराम श्रेष्ठ

 सेडोका कविता 

- श्रीराम श्रेष्ठ 

१,

नियतै सानो

जलेको खरानीमा

खोतलेको जीवन ।

मुढो बनेर

तपस्वीको रुपमा

खोजेको हैसियत ।

२,

सीमित घेरा

आत्मा सन्तुष्टि मिल्दा

सोच- विचार 

तरल भएपछि 

रमाइदिन्छ मन ।

३,

फिँजेको स्वार्थ

आफैभित्र हरायो

ओझेल पार्‍यो छायाँ।

मान्छेको सोच

आफुभित्रको चुली

घमण्ड छताछुल्ल ।

४,

रसुवा जिल्ला 

सुम्दर गाउँवस्ती

लोभले मन चिर्दै।

विकट बस्ती

प्रकृतिको छटामा

पोखिएको यौवन ।

५,

गोला बारुद 

बाँचेर हिँड्न खोज्दा

मृत्यु पनि तर्सेको ।

डरत्रासमा

रुमलिएको मन

शान्ति खोज्दै अल्पेको ।

६,

दिन दैनिकी 

समस्याको डङ्गुर

भाग्यमाथि अँध्यारो ।

समात्न खोज्दा

चिप्लिएको माछाले

तातेको भाँडो खाली ।


Comments