कविताः जनता
– दिव्य गिरी
तीन अक्षरको यौटा शब्द छ – जनता
राजनीतिमा अत्यधिक प्रयोग हुने शब्द – जनता
संसारभरका शासकहरूलाई शासन गर्न नभई नहुने – जनता
हो, जनताले नै बनाउँछ
शासकलाई वास्तबिक शासक !
तर तेही जनता
सृष्टिकालदेखि नै
युद्ध र लँडाइको नाममा मारिन्छ
क्रान्तिको नाममा काटिन्छ
निरीह र निरपराध हुँदाहुँदै पनि
आत्मघाती हमलामा पारिन्छ ।
यस प्रकार जनता
अन्याय र असुरक्षाको गुफामा सँधै निसासिन्छ
अशान्तिको भूमरिमा दिनदिनै अतालिन्छ ।
बिचरा जनता !
आफैमाथि शासन गराउन
आफैमाथि शासन गर्ने
शासक चुन्नको निम्ति
घन्टौँसम्म लाइनमा उभिन्छ
र मनमनै कामना गर्छ –
यो पटक जित्ने नेताले
गाउँमा स्कूल, बाटो
र खोलामा पूल हालिदिन्छ
गाउँमा अस्पताल र
पिउने पानीको धारा ल्याइदिन्छ ।
कति सोझो र निष्कलङ्क छ जनता
सँधै सपना पालेर राख्छ आँखामा
सँधै सपना गोडेर बस्छ मनमा ।
हो, आज त्यही जनाता
सँधै अभाव र महँगीको भारले थिचिएकै छ
सँधै भ्रष्टाचारको आकाशले किचिएकै छ
सँधै न्यायको निम्ति तड्पिएकै छ
सँधै शान्तिका निम्ति कहालिएकै छ
बिडम्वना
जनतालाई थाहै हुँदैन
उसलाई हरेक चुनावमा
बलिको बोको बनाइएको हुन्छ
भन्न त सबै शासकले भन्छन् –
जनताले जनताको निम्ति जनताद्वारा गरिने
शासनको नाम हो प्रजातन्त्र !
तर नितान्त उल्टो भईदियो
शासकले शासकको निम्ति शासकद्वारा गरिने
प्रजातन्त्र नामको लुटतन्त्र भएको छ ।
Comments