तन्का कविता
- पुष्कर लोहनी
१,
खुट्टा चिप्लियो
टेक्ने ठाउँ खोज्दैमा
पानीको भल
हाँस्दै तिमी दौडियौ
यसै अलमलिएँ ।
२,
एक्लै भेट्टाएँ
तिमी पनि थिइनौ
राताम्य गाला
आफैँले आफ्नो हेरेँ
आफैँले नै मुठ्याएँ ।
३,
पुसको चिसो
नजिक भए पनि
बैँस जमेछ
तिमी डल्लो भएर
हानिरहँदा पनि ।
४,
पुग्यो पुगेन
थाहा छैन मलाई
सुनेको मात्र
डाँडो चढेकी तिमी
छाया खप्टिँदै गयो ।
५,
मस्केकी तिमी
हेर्दैमा मात्र पनि
उक्लिनु पर्ने
सहनै नसकिने
थामथुमै भएन ।
६,
आवाज सुनेँ
तिमीले बोलाएको
रित्तो गिलास
चुचुरो छुन पुगेँ
स्वर्गको खोँच टेकेँ ।
७,
तिघ्रा च्याप्दा
रहरलाग्दी तिमी
चलेको हात
भित्तामा बजारिँदा
जवानी नै ढलेछ ।
Comments