तन्का कविता
- पुष्कर लोहनी
१,
छाम्न पल्केको
ओइलिएको मूला
तीते करेला
झुन्डिएको घिरौँला
डल्ले हरियो फर्सी ।
२,
बाडुली लाग्छ
निदाउन सक्तिनँ
ठिङ्ग उभिँदा
सम्झेँ ठेकीको घिउ
मस्तसँग च्यापिँदा ।
३,
बाँसको ढोका
चिसो हिउँको थुप्रो
कुकुर भुक्दा
पेट यसै लागेछ
तागतिलो पानी रे ।
४,
चट्याङ पर्दा
फाट्टिएछ जमिन
छिरेको पानी
झरेछ ओठतिरै
झोलजस्तै नुनिलो ।
५,
मन त थियो
आगो सल्काइदिने
चिसो मकल
थिचिदियो खुट्टाले
आँखा नै चिम्लिएको ।
६,
भाँडो चकिँदा
निस्केको पिरो धूवाँ
थिचेको आँखा
तर्सेको चिल्लो पात
झर्न खोजेको फूल ।
Comments