नेपालमा हरेक वर्षको असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिएको छ । यस दिन कृषकहरू आफ्नो धानखेतमा रोपाइँ गर्ने र दहीच्यूरा खाने गर्छन् ।तर, पछिल्ला वर्षहरूमा भने असार १५ लाई युवायुवतीहरूले ‘हिलो खेल्ने उत्सव’ को रूपमा सेलिब्रेट गर्न थालेका छन् ।
धान दिवसमा एउटा तस्वीर खुबै भाइरल भयो । तस्वीरमा दुई युवा-युवती हिलोमा डुबुल्की मार्दै रोमान्स गरिरहेजस्तो देखिन्छ । धान रोप्ने बहानामा हिलोमै उच्छृङ्खल क्रियाकलाप गरेको भनेर सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको छ । यद्यपि, उनीहरू को हुन् र दृष्यको वास्तविकता के हो भन्ने धेरैलाई थाहै छैन ।
तस्वीरमा देखिएकी युवती हुन्, रेसलर अस्मिता ‘जुरेली’। केही समयअघि सन्ध्या तिवारीको अध्यक्षतामा ‘नेकपा एमाले’नाममा दर्ता गरिएको पार्टी (जसको अहिले नाम परिवर्तन) की सचिव पनि हुन् उनी । विगतमा उनी मोडलिङ पनि गर्थिन् । अहिले महिला रेसलरका रूपमा परिचित छिन् ।
तस्वीरमा देखिएका पुरुष हुन् दोहोरी गायक छत्र शाही । उनी इन्द्रेणी साँझमा काम गर्छन् । हिजो भक्तपुरमा युवा संघ नेपालले पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा आयोजना गरेको रोपाईं कार्यक्रममा आ-आफ्नै हिसाबले उनीहरू सहभागी भएका थिए ।
खासमा रोपाइँ कार्यक्रमकै बीचमा कृष्ण कँडेलले इन्द्रेणीका कलाकारहरुलाई दोहोरी खेलाउन थाले । पुरुषतर्फ छत्र शाही र महिलातर्फ कल्पना दाहालबीच दोहोरी भिडन्त चलिरहँदा जुरेलीले कल्पनालाई साथ दिइरहेकी थिइन् । बीच-बीचमा अरुले पनि घान हाल्दै थिए ।
होचो कदका छत्रले जुरीलाई कम्मरमा च्याप्पै समाते अनि हिलोमा बङ्लङ्ग पछारे । एक्कासी पछारिएपछि प्रतिकार गर्ने क्रममा जुरेलीले प्रतिकार गर्दा त्यो दृष्य फोटोग्राफरले कैद गरेका थिए । तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि जुरेली अचम्मित छन् ।
उनी भन्छिन्, ‘हामी रेसलरका लागि यस्तो कुरा सामान्य नै हो । पोहोरको रोपाइँ दिवसमा पनि हिमालयन टाइगरले हिलोमा रेसलिङ गराउनुभएको थियो । पुरुषसँग रेस्लिङ खेल्न पनि मलाई नौलो लाग्दैन ।’
उनले थपिन्, ‘खेतमा निकै रमाइलो भएको थियो, तर एकाएक सामाजिक सञ्जालमा तस्वीर भाइरल भएको देख्दा चाहिँ नरमाइलो लाग्यो । धेरैले गलत तरिकाले सोच्नुभयो । हिलोले छोपिएको हुँदा सुरुमा त कसैले पनि त्यो म हो भनेर चिनेका पनि थिएनन् । तर, कमेन्टमा धेरैले मलाई मेन्सन गरेपछि फोन आउन थाल्यो । कस्तो नराम्रो भयो क्या । म त आज घरबाहिर पनि ननिस्की चुपचाप रूममा बसिरहेको छु ।’
छत्र शाही आफ्नो भाइजस्तो भएको उनले बताइन् ।‘छत्रसँग मेरो राम्रो सम्बन्ध छ, तर अहिले धेरैले सोचेजस्तो हामी गर्लफ्रेन्ड-व्वाइफ्रेन्ड होइनौं,’ उनले भनिन् ।आफूलाई गलत तरिकाले भाइरल हुने मोह नरहेको जुरेलीको भनाइ छ ।
उनले भनिन्, ‘मेरो आफ्नो एउटा स्टेटस छ । यसरी एउटा तस्वीरका कारण एक/दुई दिन भाइरल हुने र त्यसपछि हराउने मलाई मन पनि पर्दैन । आफ्नो कामबाट चर्चित हुने हो । मैले भाइरल हुन्छु भन्ने सोचेर त्यो गरेको पनि होइन । एक्कासी भएको घटना हो ।’
Comments