१.
नेताहरुले आश्वासन छरेर गएछ्न्।
आस गर्दागर्दै लौ जनता मरेर गएछन्।।
आउनेहरु त यो मञ्चमा धेरै आए-गए।
जति आए आफ्नै मात्र पेटभरेर गएछन्।।
मेरो मौलिक अधिकार नखोसी देऊ भन्दा।
बलियाले निर्धालाई आँखा तरेर गएछन्।।
बाच्ने आस हुदाहुदै पनि सबैले लखेट्दा।
निर्दोषहरुका प्राण अन्तै सरेर गएछन्।।
जस्ले जोगाउछु भनेर छेउमा गयो हिजो।
तिनैले नेपालको अस्मिता हरेर गएछन्।।
२.
मलाई झुपडीकै बास प्यारो लाग्छ।
पसिनाकै पवित्र गाँस प्यारो लाग्छ।।
तिमी खुशी किनिदिन्छु भन्छौ यसरी।
यो नजरलाई उदास प्यारो लाग्छ।।
चाहिन्न भो महलको सुख सयल
यहि हिमाली बतास प्यारो लाग्छ।।
भन्छौ कसको मायामा अल्झियौ तिमी
मनलाई यहि माटो खास प्यारो लाग्छ।
३.
माटो चिन्न उसलाई गाह्रो नहोस् अब।
नुन किन्न उसलाई गाह्रो नहोस् अब।।
हिमाल,पहाड,तराई भएर नौलो।
बाटो हिन्न उसलाई गाह्रो नहोस् अब।।
नेपाल सबको साझा भाषा धर्म पनि।
भई भिन्न उसलाई गाह्रो नहोस् अब।।
सहिलाई नै गलत भन्नेको भिडमा।
न्याय छिन्न उसलाई गाह्रो नहोस् अब।।
माटो जोगाउन लौ जागेको आँखालाई।
निद पिन्न उसलाई गाह्रो नहोस् अब।।
४.
पैसालाई मान-सम्मान बनाए दुनियाँले।
मन-मुटुलाई चिहान बनाए दुनियाँले।।
सत्यलाई त आगो लगाए खरानी गरेर।
झुट अँगाली लौ ज्यान बनाए दुनियाँले।।
हो शान्ती ल्याउलान भन्ने आस कति रहेन।
हिंसा-हत्यालाई बगान बनाए दुनियाँले।।
थोरै दया पसेन गरिबको झुप्रोहरुमा।
आँसु पानी,पिर उखान बनाए दुनियाँले।।
जित्नेहरुले खै के जिते लगे पत्तै भएन।
सिधासादालाई नै घान बनाए दुनियाँले।।
भगवती खनाल"सुनाखरी"
बिदुर-८ क्यौरिनी,नुवाकोट
Comments