यूएई - यूएईमा कार्यरत डाक्टर रविन्द्रकुमार यादव यूएईको गोल्डेन भिसा पाउने पहिलो नेपाली नागरिक बन्नुभएको छ । आठ वर्ष पहिलेबाट यूएईमा कार्यरत विराटनगरका डाक्टर यादवले यूएईले प्रदान गर्न सुरु गरेको सुनौलो भिसा अन्तर्गत १० वर्षे गोल्डेन भिसा मङ्गलवार पाउनु भएको हो ।
संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले गएकाे केही महिनादेखि विशेष व्यक्ति र पेसामा आबद्ध गैर नागरिकहरुलाई गोल्डेन भिसा दिन सुरु गरेको छ । यूएईले डाक्टर, शिक्षक, शिक्षिका, वैज्ञानिक, व्यावसायिक व्यक्तित्व, कलाकार तथा यूएईलाई विशेष योगदान दिँदै आएका व्यक्तिलाई गोल्डेन भिसा दिन सुरु गरेको हो ।
सन् २०१३ मा यूएईको अलएनको अल नुर अस्पतालबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गर्नुभएका डा. यादव अहिले आबुधाबीको रिम आइल्यान्डमा रहेको बुर्जिल अस्पतालमा चर्म रोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगञ्जबाट एमबीबीएस उत्तीर्ण गर्नुभएका डा. यादवले बनारस हिन्दु युनिभर्सिटी बारानासी भारतबाट एमडी गर्नुभएको छ । काठमाण्डौको नोबेल मेडिकल कलेजमा मेडिकल सहायक निर्देशकको रुपमा काम गरिसक्नु भएका उहाँले सन् २००२ मा यातना पीडित सरोकार केन्द्रको पूर्वाञ्चल क्षेत्रीय निर्देशकको रुपमा पनि काम गर्नुभएको थियो ।
उहाँ भारतको कुटानियस सर्जन, भारतीय प्रसाधनिक चर्म विज्ञान सोसाइटीको आजीवन सदस्य, अमेरिकन एकेडेमी एस्थेटिक मेडिसिनको वार्षिक सदस्य र अमेरिकन एकेडेमी डेर्मेटोलोजीको अन्तर्राष्ट्रिय फेलोपर्सन हुनुहुन्छ ।
यसैबीच यूएई सरकारले यसै वर्षबाट प्रदान गर्न सुरु गरेको गोल्डेन भिसाका लागि यूएईमा विभिन्न पेसा व्यवसायमा संलग्न २८ जना नेपाली नागरिकले पनि गोल्डेन भिसाका लागि आवेदन दिनुभएको छ । काठमाण्डौ रहेको यूएई दूतावासको अनुरोधमा नेपाली बिजनेस काउन्सिलले २८ जना नेपालीको आवेदन सिफारिस गरेको काउन्सिलले जनाएको छ ।
यूएईले आफ्नो देशमा योगदान दिएका विदेशी नागरिकलाई गोल्डेन भिसा दिएर सम्मान गरिरहेको र त्यसमा नेपाली नागरिकले समेत अवसर पाउनु गर्वको विषय भएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभयो । अहिलेसम्म डाक्टर यादव बाहेक अन्य नेपाली नागरिकले गोल्डेन भिसा पाएकोबारे औपचारिक रुपमा दूतावासलाई जानकारी नआएको राजदूत ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।
यूएईमा रहेका के कति नेपालीले गोल्डेन भिसा पाए भन्ने विषयमा यहाँको माथिल्लो निकायमा सोधपुछका लागि पत्राचार गरिसकिएको राजदूत ढकालको भनाइ छ ।
Comments