हिन्दू नेपाली नारीहरुले आज भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्छन् । यस वर्ष कोरोना महामारीका कारण मन्दिरहरु खुल्ला नभए पनि मन्दिर बाहिर भक्तजहरुको भिडभाड रहेको थियो।पशुपतिनाथ लगायत अधिकांश मन्दिरहरु बन्द हुँदा पनि श्रद्धालु भक्तजनहरुको मन्दिर आसपास बाक्लो उपस्थिती रहेको थियो।
साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् । काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर शिव मन्दिर लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
यसैबीच चितवन, नवलपरासी र नुवाकोटको बेलकोटगढी-४ सुवेदी गाउँमा रहेको आरुकोटे शिव मन्दिरमा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने गरिन्छ । साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ । साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ ।
विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् । साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने मेहन्दी पनि लगाउने गर्दछन् ।
Comments