कविता 
- श्रीराम श्रेष्ठ 
शून्यता लाग्छ
आजभोलि 
अलिअलि बाँचेको उज्यालो 
दिन छँदै
सूर्यास्त भयो
उज्यालोको जन्म
पुनः मिर्मिरे बिहानी हुनुपर्छ
उज्यालो हुन नपाउँदै
जूनको हत्या हुन्छ
जूनको जन्म हुन
पुनः साँझ हुनुपर्छ 
समय परिवर्तनशील छ
भोलि आज हुन्छ 
आज हिजो हुन्छ
हिजो बिगत हुन्छ
निस्पट अँध्यारो
भालेको डाकसँङ्गै
उज्यालो हुन्छ 
त्यही उज्यालोको नजिक
पुग्दानपुग्दै
समयले कोल्टे फेर्छ
समयको नियत 
अनि ध्रुब सत्यकुरा 
म हिजो बालक थिएँ
आज युवा छु
भोलि वृद्ध हुन्छु
अन्त्तत:
म यो संसार म छाडेर  
सदाको लागि बिदा हुन्छु ।
      लेखेको मिति : २०५९/०३/२३
Comments