विदुर । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा नुवाकोटको अध्यक्षमा पुनः शक्तिमाया तामाङ चयन हुनुभएको छ ।
शुक्रवार सम्पन्न चौथो जिल्ला अधिवेसनले तामाङलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । शाखाको उपाध्यक्षमा राकेश डंगोल, सचिवमा सुनिल श्रेष्ठ र कोषाध्यक्षमा भगवती लामा चयन भएका छन् । यस्तै सदस्यहरुमा होमबहादुर तामाङ, सञ्जु तामाङ, भावना तामाङ, मनिष नगरकोटी र सर्मिला थापा मगर रहेका छन् ।
यस्तै अधिवेसनले केन्द्रीय प्रतिनिधिमा गमला लामा, नवदीप श्रेष्ठ, अनुजमान श्रेष्ठ र प्रदेश प्रतिनिधिमा राम श्रेष्ठ, भरतसन्तोषी लामा र प्रताप तामाङलाई चयन गरेको छ ।
जिल्ला अधिवेसनलाई संवोधन गर्नुहुदै नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिसद नुवाकोटका अध्यक्ष भगवान राना मगरले फोनिजलाई साथमा लिएर गतिविधिहरु सञ्चालन गर्दै जाने बताउनुभएको छ । आदिवासी जनजातीको उत्थान तथा व्यक्तित्व विकासमा तीन वटै सरकार जिम्मेवार हुनु आवस्यक रहेको उहाँले बताउनुभएको छ ।
यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका उपाध्यक्ष नवदीप श्रेष्ठले आफ्नो भाषा, संस्कार, पहिचानलाई आफू आवद्ध सञ्चार माध्यममा प्राथमिकता दिनलाई फोनिजमा आवद्ध पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । जात विशेषको संस्कृति र इतिहासलाई लिखितरुपमा दस्तावेज बनाएर राख्न सकियो भने आगामी पुस्तालाई चिनो स्वरुप हस्तान्तरण गर्न सकिने बताउनुभएको छ ।
शाखामा आवद्ध पत्रकारहरुलाई सक्रिय बनाउन प्रोत्साहन गर्ने गतिविधि सञ्चालन गर्ने फोनिज जिल्ला अध्यक्ष शक्तिमाया तामाङले प्रतिवद्धता जनाउनुभएको छ ।
Comments