नयाँ वर्षका दिन
म साथीहरूको माझ थिएँ
चिसो मध्य- रातमा
सपनाको राप ताप्दै
विदेशी रक्सीमा झुम्दै
म आफ्नो मनमा
वर्षैादेखि 
बिझिरहेको पीडा र वेदनालाई
केही क्षण बिर्सन चाहन्थेँ 
पिउदै जाँदा थाहै भएन
धेरै पिएछु
बिर्सन नसक्ने दु:खद् अतीतका दिनहरुलाई
एकैपल भएपनि बिर्सिदिई
म साथीहरूसङ्गसङ्गै
क्यासेट प्लेयरमा गुन्जेका
विदेशी गीत / सङ्गितमा झुमें
धेरै नाचियो
धेरै चिच्याइयो
लाग्थ्यो त्यस समयमा 
खुशीका दिनहरुले जिस्काइरहेका छन्
खुल्ला चउर 
खुल्ला आकाश
बीचमा 
म
अनि 
साथीहरू
मात्तिरहेका थियौ रातभर 
म झस्किएँ
अतीतलाई सम्झेर
भक्कानिएर रोए
तर खुशीका दिनहरुलाई
स्वागत गर्न तल्लीन 
मेरा मनहरुलाई
झिनो आशा देखाई सान्त्वना दिँदै थियो
नयाँ वर्षको आगमनले
नयाँ वर्षको प्रारम्भदेखि अन्त्यसम्म
यो भूमिमा
धेरै मान्छे जन्मिए
धेरै मान्छे माटाेमा बिलिन भए 
जन्मदै मान्छेहरुले पीडा बोक्छन्
मृत्युुपर्यन्त
पीडा बोक्न को- को आए 
एकिन गर्न सकिएन
आजसम्मको समयमा 
आउने जानेको क्रम चलिरहेको छ
निरन्तर 
चिन्ताग्रस्त जीवन चक्रमा
सपना र विपनामा अल्झिदै
क्यान्सरग्रस्त सडकमा
भौतारिँदै हिँडिरहेका छन् मान्छेहरू 
कहाँ जान्छौं मान्छेहरु ?
मलाई सोध
म भनिदिउला तिम्रा आत्माकथाहरु
आफ्ना पीडामा 
तिमी जिउने प्रयत्न नगर 
पीडाग्रस्त तिम्रो अनुहारले
रुवाइदिन्छ सबैलाई 
हे नयाँ वर्ष !
मान्छेका पीडालाई कम गरिदे
खुशीका क्षणहरु पोखिदे,
छर्पस्ट पारेर मान्छेको भाग्यमा
नयाँ वर्ष आयो
थाहै नपाइकन लिसुक्कै गयो
नयाँ वर्ष आउँदा जाँदाको
बीच समयमा 
धेरै मान्छेहरु रुन्छन्
धेरै मान्छेहरु हास्छन्
हास्नु र रुनुको खेलको अभ्यासमा 
सहभागी हुन्छन् मान्छेहरू 
वर्षैपिच्छे
दिमाग चाट्ने
यस्तै खेल दोहोरिरहन्छ
निरन्तर 
म 
अनि 
मजस्तै मान्छेहरु
सहभागी भइनै रहन्छौँ ।
                           २०६२/०१/०३
Comments