चितवन – सरकारले चितवनका भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । आज शुक्रवार चितवनको साविक इच्छाकामना गा.वि.स.७ र जुटपानी गा.वि.स. ९ का भूमिहीनहरूलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो ।
प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा नहुँदा राष्ट्रियताविहीन भएर बस्नुपरेको अवस्थालाई केन्द्रित गर्दै जग्गाधनी प्रमाणपत्र वितरण गरिएको बताउनुभयो । उहाँले जग्गाधनी प्रमाणपत्र नहुँदा उनीहरूले नागरिकतासमेत नपाएको र संविधानले दिएको अधिकारको उपभोगसमेत गर्न नपाएको बताउनु भयो ।
मन्त्री श्रेष्ठले यसअघिका सरकारले जग्गाधनीहरूलाई लालपुर्जा उपलब्ध गराउने काम प्राथमिकतामा नराखे पनि अहिलेको सरकारले जग्गाधनीहरूलाई लालपुर्जा दिने काम पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री श्रेष्ठले वास्तविक भूमिहीनहरूलाई अधिकार प्राप्त गर्नबाट वञ्चित गराउन नहुने बताउनुभयो ।
कार्यक्रममा जग्गाधनीको प्रमाणपत्र पाएकाहरूले खुसी व्यक्त गरेका छन् । अहिलेसम्मको सरकारले आफूलाई नेपाली नागरिक नै नठाने पनि यस सरकारले जग्गाधनी प्रमाणपत्र वितरण गरेर आफ्नो अधिकार दिलाएको बताए ।
लाभग्राही मध्येकी एक चममाया मगरले भन्नुभयो, ‘अहिलेको सरकारले दियो खुसी लागेको छ । अब आउने सरकारले दिन्छ दिँदैन, हामी नभए पनि हाम्रा छोरा नातीलाई त भयो नि ।’ लाभग्राहीहरुले कानुनी रूपबाट जग्गाको धनी बनेपछि संविधानले दिएको अधिकार पाउनेमा आशावादी रहेको बताए ।
Comments