पुस्तक समीक्षा
सिमीको बोट हेर्दा
- श्रीराम श्रेष्ठ कथा, उपन्यास, निबन्ध, नाटक तथा कविता विधामा निरन्तर रूपमा क्रियाशील स्रष्टाको नाम हो, तेजराज खतिवडा अर्थात् तेराख । झापामा बसेर साहित्य लेखनमा सक्रिय खतिवडा नेपाली साहित्य आकाशमा आफ्नो छुट्टै आयाम विजारोपण गर्न सफल स्रष्टा हुन् । ‘प्रिया’ काव्य – बि.सं.२०२६मार्फत साहित्यकारका रूपमा परिचित भएका हुन उनी । उनका ढाडेको नाकमा घिउ, अलपत्रेका फूलहरू, प्रिय शान्तिनगर, पश्चिमी हावा, रातको बाह्र बजे, टेष्ट्युव बेबी, सहर-गाउँ, दुइ नारीको चेपमा, गोल चिन्तनका साथै सिमीको बोट कथा सङ्ग्रह प्रकाशित छन् ।
‘सिमीको बोट’ प्रतिभा, धारो , सुखानी, यथार्थ, जुही, मेची, संगम जस्ता विभिन्न पत्रपत्रिकामा प्रकाशित १३ वटा कथाहरूको सङ्ग्रह हो । यस सङ्ग्रहका कथाहरूमा व्यक्ति, समाज र समयलाई यथार्थ ढङ्गले रोचक शैलीमा प्रस्तुत गरिएकाले कथा सम्प्रेषणीय छन् । भाषाशैली, चरित्रचित्रण, सम्वादशैली, कथ्य आदि तत्वहरूमा कथाकार तेराख अब्बल ढङ्गले छाप छोड्न सफल भएका देखिन्छन् । उनका कथाका भावभूमि गाउँ तथा सहर नै हुन् । थोरै लेखेर धेरै कुरा बुझाउन सक्ने क्षमतावान् कथाकारका रूपमा दर्ज भएका छन् – तेराख । जीवनका अनुभव, अनुभूति, भोगाई र विचारलाई सूक्ष्म रूपमा कथामा उतारेर कथाकार तेराखले आफ्नो परिपक्क दृष्टिकोण प्रस्तुत गरेका छन् ।
उनको लेखनको खास प्रवृत्ति भनेको प्रयोग हो । प्रत्येक कृतिमा छुट्टै किसिमको प्रस्तुति पस्कन आफ्नो ब्रम्हले भ्याएसम्म तल्लिन हुन्छन् उनी । र, यसमा अन्ततः सफल पनि भएका छन् । साहित्यमा सबै भन्दा बढी पढिने विधा कथा हो । विविध परिवेशलाई समेटेर पस्केका उनका यी कथाले नेपाली कथासाहित्यलाई समृद्ध बनाएको पाइन्छ ।
‘एक धर्को सिन्दुर’ शिर्षकको एउटा अभिषापीय कथाबाट शुभारम्भ छ- सिमीको बोट कथा सङ्ग्रह । यस कथामा महिलाहरूको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने दुःख-सुखलाई प्रस्तुत गर्न खोजिएको छ । कथाले जोकोही मान्छेलाई गम्भीर भएर सोच्न बाध्य तुल्याएको छ । जानी जानी आफ्नो सुरक्षाको खातिर अपनाइएको क्षणिक जुक्तिले नेपाली समाजलाई विश्वास दिलाउन नसक्नाले काकी पात्रबाट शकुन्तला नामकी एक युवती अनाहकमा त्यसको शिकार बन्न पुगेकी छिन् । त्यस्तै गरी काठमाडौँको महङ्गी, फेशन र मानवीय पीडाहरूमा केन्द्रित ‘मनोज झस्किरहन्छ’ शिर्षकको कथामा टुङ्गिन्छ सङ्ग्रह ।
भूमिकामा साहित्यकार डा.नरेन्द्र चापागाई लेख्छन् उनका कथाहरूको रूपपक्ष कतै चित्रात्मक रहेको र कतै विश्लेष्णात्मक रहेको अनि पात्रका चारित्रिक धरातललाई फराकिलो र युगिन परिवेशलाई सघनरूपमा प्रस्तुत गरिएको पाइन्छ भने कथाका बान्कीले आफ्नो छुट्टै रूप लिइ प्रतिनिधिमूलक पनि बनेको छ । त्यस्तै, भूमिकामै अर्का साहित्यकार प्रा.तारा विविध लेख्छन्- तेराखका कथामा चरित्रहरू सत् र असत् दुबै खाले छन् । यी दुवै खाले चरित्रका बीच द्धन्द पाइन्छ कथामा । दुःखको कुरा के छ भने सत् पात्रहरू सदैब पराजित अवस्थामा पुगेका छन् । सत् पात्रमा परिस्थितिसँग जुधेर विजय हासिल गर्न क्षमता छैन बरू पराजितलाई बाध्यता स्वीकार गर्ने प्रवृन्ति छ । यसरी तेराखका कथामा पात्रहरूमा सामाजिक चेतना छ तर पराजित मानसिकता भित्र बाँचको चेतनाले काम गर्दैन भन्ने सन्देश उहाँका प्राय ः कथाहरूले दिने गर्दछ ।
कथाकार तेराखले २०४६ को जनआन्दोलन अगाडिको पञ्चायतकालीन निरंकुशताबाट आमनागरिकले खेप्नु परेको सास्ती र जनआन्दोलन पश्चात् राजनीतिक दलका नेता तथा कार्यकर्ता व्यक्तिगत तथा पार्टर्ीी स्वार्थमा अल्झेकोले नेपाली जनताको आशामा तुषारापात हुन पुगेको सटिक यथार्थवादी चित्रण हो, उज्यालो कहिले हुने हो र सामान्ती घर शिर्षकको कथा ।
सङ्ग्रहका प्राय : कथाले नेपाली समाजमा आएको परिवर्तनलाई इङ्गित गर्न खोजेको देखिन्छ । उजाडिएको बस्ती, बेली गाई, डुँडी बाहुनी बज्यै जस्ता कथाहरूले युगौँदेखि चल्दै आएको संस्कारलाई निरन्तता दिनुको साटो समाजमा रहेको मूल्य र मान्यतालाई तहस नहस गर्न खोज्ने संस्कारको विकास भइरहेको व्यङ्ग्यात्मक भाव प्रस्तुत गरेका छन् ।
यस सङ्ग्रहको शिर्षककथा सिमीको बोट उत्कृष्ट कथाको रूपमा देखिन्छ । सिमीको बोटमा लाग्ने कीरा र मानिसको शरीरमा लाग्ने रोग अन्ततः एउटै हो । यद्यपि, यी दुवै रोग औषधी प्रयोग गरेमा निको हुन्छन् भन्ने चेतनामूलक जानकारी पनि सिमीको बोट कथाले दिन्छ ।
सामाजिक यथार्थ हुँदै आलोचनात्मक यथार्थसम्म र्स्पर्शमध्ये अधिकांश प्रगतिशील यथार्थवादी विचारले ओतपोत भएका पाइन्छन् । सिमीको बोट कथासङ्ग्रहभित्रका कथाहरूलाई सरर्सर्ती अध्ययन गर्दा कथाले ग्रामीण क्षेत्रका तमाम सीमान्तकृत मानिसका दुःख-पीडा र संवेदनालाई प्रतिबिम्बित गरेको देखिन्छ । यी कथाहरू ग्रामीण परिवेशका सपाट दृश्यचित्र हुन् भन्न सकिन्छ । सङ्ग्रहभित्र समाविष्ट कथाहरू अत्यन्त उत्कृष्ट छन् । पठनीय, मननीय र चिन्तनीय छन् । विषय, शैली र प्रस्तुति सबै कोणबाट कथाहरू उत्कृष्ट लाग्छन् ।
Comments