डाक्टर लामिछानेको पुर्ख्यौली घर लमजुङको राइनास-८ हर्राबोट हो। २०७२ सालमा आएको भूकम्पले उनकोमात्रै नभएर गाउँका प्रायःको घर भत्कायो।
‘आफू जन्मे-हुर्कको, पढे-खेलेको त्यो घर गुमाउनुपर्दा मलाई असाध्यै पीडा भएको थियो। बुबाले बनाएको पहाडी मौलिकता झल्कने यति राम्रो घर अब सकियो भनेर साह्रै दुःख लाग्थ्यो,’ उनले भने, ‘कुनै दिन यस्तै घर बनाउँछु भन्ने कल्पना गर्थें।’
गाउँको घर भत्किएको ठाउँमा सरकारले दिएको तीन लाख रुपैयाँ अनुदानमा बुबा कृष्णप्रसादले अर्कै शैलीको घर बनाएपछि उनमा चितवनमै भए पनि पुरानो शैलीको घर बनाउने हुटहुटी बढेको थियो।
अन्ततः उनले उस्तै मौलिक शैलीमा केही नयाँपन दिएर यो घर तयार पारे। घर तयार पार्न इन्जिनियर साजन अधिकारीको सहयोग लिएका थिए। २ महिनामा तयार भएको यो घरमा ७ वटा कोठा छन्। भुइँ तलामा तीन, दोस्रोमा तीन र तेस्रो तलामा एउटा हल कोठा छ।
घरको डिजाइन गरेका इन्जिनियर अधिकारीका अनुसार यो घर हेर्दा ठ्याक्कै पहाडी शैलीको देखिए पनि निर्माणका क्रममा आधुनिक विधि र प्रविधिको पनि प्रयोग गरिएको छ। पिलर, गारोलगायतका संरचना तयार पार्न कंक्रिटकै प्रयोग गरिएको छ।
‘नदीको नजिकै बनेको भएर घर प्राविधिक रूपले पनि सुरक्षित बनाउनुपर्थ्यो,’ अधिकारीले भने, ‘त्यसैले बलियो बनाउनका लागि आवश्यक सामग्रीको प्रयोग भएको छ।’
घरको बार्दली, भर्याङ, दलिन, डाँडा, भाटालगायतको निर्माणमा साल र वन सिसौका काठको प्रयोग गरिएको छ। २० वटा आँखीझ्याल छन्।
तेस्रो तल्लाको चारैतिर राखिएका बार्दली निकै आकर्षक देखिन्छन्।
इन्जिनियर अधिकारी चितवनको इच्छाकामना गाउँपालिकाको शिरमा गाउँपालिका र प्रदेश सरकारको साढे २ करोड रुपैयाँ बजेटमा अहिले बन्दै गरेको इच्छाकामना मन्दिरको पनि डिजाइनर हुन्।
‘मेरो रूचीको विषय नै परम्परागत कलामा आधुनिक प्रविधि र प्रणालीको प्रयोग गर्ने हो,’ उनले भने, ‘यो घर बनाउँदा, मन्दिर बनाउँदा त्यही सीपको प्रयोग भएको छ।’
घरलाई सेतो, रातो, कालो र चकलेट रङले सिंगारिएको छ। रङ पनि गाउँमा पाइने कमेरो, रातो माटोको प्रयोग गरिएको छ।
‘त्यसलाई टिकाउ बनाउन अन्य रङ पनि मिसाइएको छ, सकेसम्म गाउँले माटोकै प्रयोग गरेर गाउँले पहिचान दिन खोजेको छु,’ डाक्टर लामिछानेले भने। यो घर तयार पार्न ४० लाख रुपैयाँभन्दा बढी खर्च भएको उनले बताए।
घरको आडैमा ढुंगे धारो छ। त्यो धारोमा मूलको पानी अटुट रूपमा आइरहन्छ। वरपर करेसा बारी, बारीमा मौसमअनुसारको तरकारी। घर नजिकै गाई र हाँस पालेका छन्। बाँसका भाटाले कम्पाउण्ड गरिएको घरको अघिल्तिर लहरै तीन वटा गरामा धान रोपेका छन्। लामो समयदेखि बाँझै रहँदा बिग्रिएको खेतलाई यसपटक डोजर लगाएर मिलाइएको थियो। पाटा मिलेको खेतमा हल गोरुले जोतेपछि खेतालाले बाउसे गर्ने, रोप्ने गरेका थिए।
यो घरमा डाक्टर लामिछाने र उनका छोरा प्रतीक बस्छन्।
‘बुबा-आमाहरू पहाडमा पनि बस्नुहुन्छ, यता हुँदा यहीँ बस्नुहुन्छ,’ उनले भने, ‘अरू आरसिसी घरमा भन्दा यसैमा आनन्द आउँछ।’
उनकी श्रीमती डाक्टर बिएम(विष्णुमाया) खरेल डेढ वर्ष अघि बितिन्। दन्त रोग विशेषज्ञ डाक्टर खरेल चितवनमा चिरपरिचत डाक्टर थिइन्। उनको क्यान्सरका कारण निधन भएको थियो।
यो डाक्टर दम्पतीले दस वर्षअघि भरतपुरमा नेपालमै पहिलो ट्रमा सेन्टर सञ्चालनमा ल्याएका थियो। पूर्व-पश्चिम राजमार्गसँगै रहेको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर अहिले हाड जोर्नीको समस्या भएका, दुर्घटनामा चोट-पटक लागेका बिरामीको प्रमुख रोजाइ बन्ने गरेको छ। उनीहरूले पैसाको अभावमा उपचार नभएका कैयौं बिरामीको निःशुल्क उपचार गरिदिएका छन्।
उनीहरू पेशाले डाक्टर भए पनि यत्तिमै अडिन चाहेनन्। पर्यटन क्षेत्रमा पनि केही गर्ने उद्देश्यले ठिमुरामा त्रिशूलीको किनारमा रहेको करिब चार बिघा जमिन खरिद गरे। २०४५ सालदेखि लब्ली रिसोर्ट सञ्चालन भएको ठाउँ केही वर्षदेखि बन्द थियो। भूकम्पले संरचनासमेत भत्काइदिएपछि यसै थन्किएको क्षेत्र खरिद गरेर लामिछाने दम्पतीले रिसोर्ट स्थापना गर्न थाले। ढुंगैढुंगाले बनेको २५ वटा भिल्लासहितको ठिमुरा रिसोर्ट अहिले सञ्चालनको तयारीमा छ।
देशको अवस्था राम्रो हुँदै गए दसैंसम्ममा रिसोर्ट सञ्चालनमा ल्याउने तयारी छ। पहाडी शैलीमा बनाइएको घर ठिमुरा रिसोर्टसँगै जोडिएको छ।
‘यहाँ बस्न आउने पाहुनाले केही नयाँ कुरा देखून् भन्ने पनि लाग्यो, मेरी श्रीमतीको पनि केही नयाँ गरौं, केही राम्रो काम गरौं भन्ने उद्देश्य थियो,’ ३९ वर्षीय डाक्टर लामिछानेले भने, ‘हामी दुबै जनाको अथक मेहनतले अस्पताल र रिसार्ट यहाँसम्म आइपुगेको छ।’
रिसोर्टलाई दुईतर्फ जंगलले घेरेको छ, एकतर्फ त्रिशूली बग्छ, एकतर्फ चेपाङ समुदायको बस्ती छ। चितवनको काउले, सिद्धी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय केही वर्षदेखि यहाँ स-साना झुप्रा बनाएर बस्दै आएका छन्।
डाक्टर लामिछानेले रिसोर्ट बनाउँदा तिनै चेपाङ समुदायलाई रोजगारी दिएका थिए। ढुंगा, काठ र बाँसलाई जोडेर तयार पारिएको रिसोर्ट निर्माणमा ८० प्रतिशत चेपाङ सहभागी थिए।
‘हाम्रो रिसोर्टमा बस्न आउनेले शान्त अनि मनोरम वातावरणको महसुस गर्न सकून्। बालकदेखि वृद्धवृद्धासम्म रमाउन सकून् भनेर नेपालको मौलिक शैलीको भरपुर प्रयोग गरेका छौं,’ उनले भने, ‘रिसोर्ट भित्रैबाट बग्ने सानो खोलालाई चिटिक्क बनाएर सजाएका छौं, बगैंचा, आकर्षक स्विमिङ पुल, जंगलको वातावरण, रिसोर्टभित्र राखिएका काठ, ढुंगाका मुर्तिहरूले जो कोहीलाई लोभ्याउन सक्छ।’
२०५७ सालमा डाक्टर बनेका लामिछानेले करिब ५ वर्ष काठमाडौंको बिएन्डबी अस्पतालमा काम गरेका छन्। २०६७ सालमा उनले एमडी, एमएस गरे। सोही वर्ष उनले विवाह गरेका थिए। २०६८ यता उनी चितवनमा अस्पताल सञ्चालक र हाड जोर्नी तथा नसा रोग विषेशज्ञका रूपमा काम गरिरहेका छन्।
उनले भूकम्पले लमजुङको घर भत्काएपछि त्यस्तै शैलीको घर बनाउने सपना ६ वर्षपछि पूरा भएको बताए।
‘म त गाउँको परिवेश, रहनसहन मन पराउने मान्छे। यो घरमा यसै पनि रमाउँछु,’ उनी भन्छन्, ‘चितवनमा पहाडी शैलीको घर देखेर खुसी हुने धेरै मान्छे भेटेको छु। उहाँहरूको कुरा सुन्दा अझै खुसी लाग्छ।’
लमजुङमा उनको घर-खेत मर्स्याङ्दी नदीको नजिकै छ। उनले पहाडकै जस्तो घर बनाउन त्यही मर्स्याङ्दी मिसिएर आउने त्रिशूलीको तिरलाई रोजे। अचेल घरको बार्दलीमा बसेर त्रिशूली हेर्दा उनी कलकल बगेर आउने पानीमा आफ्नो बाल्यकाल बितेको लमजुङको पाखा, पखेरो महसुस गर्छन्।
‘त्रिशूली कञ्चन भएर बग्दा आनन्द लाग्छ, बाढी आउँदा गाउँतिर केही भयो कि जस्तो लाग्छ, बाढीमा बगेर आएका काठ, दाउरा आफ्नै घर खेतका हुन् किझैं लाग्छ,’ डाक्टर लामिछानेले भने।
केहीदिन अघिको बाढीले बगाएर ल्याएका काठ समातेर उनले एउटा कटेरो तयार पारे। त्यो कटेरोमुनि उनले धान कुट्ने ढिकी तयार पारेका छन्। सँगै रहेको भान्सा र शौचालयलाई पनि काठैले बारेका छन्।
‘यी हेर्दा त झन् म ठ्याक्कै गाउँ सम्झन्छु। गाउँका पुराना यादहरू ताजा बनेर आउँछन्,’ उनी भन्छन्।
यो घरमा उनकी श्रीमतीको सपना पनि जोडिएको छ।
‘मेरी श्रीमतीको प्रकृतिसँग ठूलो मोह थियो, उहाँ हुनभएको भए कति खुसी हुनुहुन्थ्यो होला। प्रकृतिको नियमलाई जित्न सकिएन,’ डाक्टर लामिछाने भन्छन्, ‘धेरै कोसिस गर्दा पनि प्रकृतिसँग केही लागेन। अहिले म यही प्रकृतिसँग नजिक हुने, यसैको निकट हुने प्रयास गरिरहेको छु।’
Comments