पुस्तक समीक्षा सिमीको बोट हेर्दा - श्रीराम श्रेष्ठ कथा, उपन्यास, निबन्ध, नाटक तथा कविता विधामा निरन्तर रूपमा क्रियाशील स्रष्टाको नाम हो, तेजराज खतिवडा अर्थात् तेराख । झापामा बसेर साहित्य लेखनमा सक्रिय खतिवडा नेपाली साहित्य आकाशमा आफ्नो छुट्टै आयाम विजारोपण गर्न सफल स्रष्टा हुन् । ‘प्रिया’ काव्य – बि.सं.२०२६मार्फत साहित्यकारका रूपमा परिचित भएका हुन उनी । उनका ढाडेको नाकमा घिउ, अलपत्रेका फूलहरू, प्रिय शान्तिनगर, पश्चिमी हावा, रातको बाह्र बजे, टेष्ट्युव बेबी, सहर-गाउँ, दुइ नारीको चेपमा, गोल चिन्तनका साथै सिमीको बोट कथा सङ्ग्रह प्रकाशित छन् । ‘सिमीको बोट’ प्रतिभा, धारो , सुखानी, यथार्थ, जुही, मेची, संगम जस्ता विभिन्न पत्रपत्रिकामा प्रकाशित १३ वटा कथाहरूको सङ्ग्रह हो । यस सङ्ग्रहका कथाहरूमा व्यक्ति, समाज र समयलाई यथार्थ ढङ्गले रोचक शैलीमा प्रस्तुत गरिएकाले कथा सम्प्रेषणीय छन् । भाषाशैली, चरित्रचित्रण, सम्वादशैली, कथ्य आदि तत्वहरूमा कथाकार तेराख अब्बल ढङ्गले छाप छोड्न सफल भएका देखिन्छन् । उनका कथाका भावभूमि गाउँ तथा सहर नै हुन...